काठमाडौँ ।
मंगलबार बिहान नौ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठकको समय सरेको छ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नामबारे निर्णय गर्न बोलाइएको बिहानको बैठक दिउँसो ३ बजे बस्नेगरी सरेको समिति सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
सोमबारको बैठक पनि सांसदहरू अनुपस्थित नहुँदा स्थगित भएको थियो । समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरिसकेको छ । भट्टराईको नाम सिफारिस भएको आजै ४५ दिन पुग्दै छ ।
यस्तो अवस्था समितिले आज निर्णय गर्नुपर्ने बाध्यता छ । भट्टराईको स्नातक तहको प्रमाणपत्र उपलब्ध नभएको भन्दै उनको नाम अनुमोदन हुन सकेको थिएन । यसअघि भट्टराईले आफूलाई असोज ११ गतेसम्मको समय दिन माग गरेका थिए ।
तर समितिले असोज ८ गते ४५ दिन पुग्ने भन्दै मागेको समय दिन नसक्ने बताएको थियो । यस्तो अवस्थामा भट्टराईका सामु कि आजै प्रमाणपत्र पेश गर्नुपर्ने कि नाम फिर्ता लिनुपर्ने विकल्प रहेको समिति सदस्यहरू बताउँछन् । सिफारिस नाम अनुमोदन गर्न वा नगर्न समितिमा रहेका दुई तिहाइ बहुमत सांसदहरूको उपस्थिति अनिवार्य हुन्छ ।