रौतहटमा अत्यधिक गर्मीका कारण कक्षा कोठामै बेहोस हुन थाले विद्यार्थी

केन्द्रभाग मिडिया

रौतहट ।

पछिल्लो केही दिन देखि बढ्दो गर्मीका कारण रौतहट स्थित कैयौँ विद्यालयको कक्षा कोठामै विद्यार्थीहरु बेहोस हुन थालेका छन् । गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि विद्यार्थीलाई गर्मी छल्न अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ।

सोमबार बिहान घाम झुल्किनासाथ अत्यधिक गर्मी बढेका कारण स्थानीय राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरू बेहोस भएका थिए।

गर्मीको कारण कक्षा ६ का नव्या साह, कक्षा ७ की अर्चना साह, कक्षा ९ का अरबिन्द साह र कक्षा १० का निधि गुप्ता बेहोस भएका थिए। बेहोस छात्रछात्रालाई उपचारका लागि तत्काल एम्बुलेन्सबाट प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचार पछि उनीहरू पूर्ण रूपमा निको भएको जिल्ला शिक्षा समन्वय इकाई रौतहटले जनाएको छ।

गर्मीबाट विद्यार्थीहरुलाई बचाउन राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६ ः ३० बजे गरिएको जिल्ला शिक्षा समन्वय इकाई रौतहटका अधिकृत उपेन्द्र सिंहले जानकारी दिए ।

गर्मीकै कारण विद्यार्थीमा समस्या देखिन थालेपछि चन्द्रपुर नगरपालिकाले आज देखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।

त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेल सम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६ः३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन्।

त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि विद्यालय सञ्चालनको समय बिहान ६ः३० देखि गरेको श्री माध्यमिक विद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पण्डितले बताएका छन्।

१८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विद्यार्थी बचाउन बिहान देखी कक्षा सञ्चालन गरिएको छ। बढ्दो गर्मीलाई मध्यनजर गर्दै तत्काल बिहान ६ः३० देखि विद्यालय सञ्चालन व्यवस्था गर्न जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रौतहटले सम्पूर्ण पालिकाहरू लाई आग्रह गरेको छ ।

  • ८ आश्विन २०८१, मंगलवार ०९:१६ प्रकाशित