पोखरा ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटिले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुुभकामना व्यक्त गरेका छन् ।सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्की सहित पदाधिकारी तथा सदस्यलाई पूर्व बन तथा वातावरणमन्त्री एवम् नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले सम्मान गरेका हुन ।
कार्यक्रममा गुरुङले औद्यागिक वस्तु उत्पादनमा जोड दिनुुपर्ने बताउँदै एक पालिका एक औद्योगिक ग्रामको अभियानलाई अघि बढाउनुुपर्ने बताए । कोभिडका कारण प्रभावित अर्थतन्त्रमा पछिल्लो समयमा सकारात्मक सूचकहरू देखिएको बताउँदै उनले अर्थतन्त्र केही चलायमान भएको बताए । मुलुकको विकास गर्ने महत्वपूर्ण जिम्मेवारी उद्योग व्यवसायीको काँधमा रहेको उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जिबबहादुर कोइरालाले तत्कालीन पञ्चायती व्यवस्थाका समयमा पनि शाकहरूले पोखरा उद्योग वाणिज्य संघले के भन्छ भनेर डराउने अवस्था रहेको बताउँदै त्यो गरिमालाई जोगाउनुु जरुरी रहेको बताए । व्यवासयिक हितका लागि संघ कृयाशिल बन्नुुपर्ने उनको भनाइ रहेको थियो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् बरिष्ठ पर्यटन व्यवसायी बोबरजंग गुरुङले संकटमा परेको उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानका लागि साझा अवधारणाका साथ अघि बढ्नुुपर्ने आवश्यकता औंल्याए ।
कोरोना कहर पछि पर्यटन सहितका व्यवसायहरू संकटग्रस्त नै रहेको बताउँदै उहाँले धेरै व्यवसायीहरू पलायन भएको बताउदै सरकारको व्यवसायमैत्री नीति आवश्यक रहेको बताए । व्यवसायहरू संकटमा नै रहेको विद्यमान अवस्थामा गण्डकी प्रदेश सरकारले यस अघि सञ्चालन गरेको व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिनु आवश्यक भएको उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई सबैको सहकार्यमा समाधान गरेर बढ्ने कुरामा लाग्ने विश्वास व्यक्त गरे । सबै व्यवसायीलाई समेटेर अघि बढ्ने उनको भनाइ थियो ।














