प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीबीच दुवै मुलुकका विदेश मन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान भएको साइडलाइन भेटवार्ता न्युयोर्क लोते प्यालेसमा भएको थियो । उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको जनाइएको छ ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भेटवार्ता राम्रो भएको उल्लेख गरे । भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृतकुमार राईको सहभागिता रहेको थियो ।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस. जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो ।

बैठकपछि परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले दुई मुलुकबीचको विश्वासको वातावरणलाई थप बलियो बनाउन द्विपक्षीय भेटवार्ताले थप सहयोग गरेको जानकारी दिए ।

चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो । यस अघि ओली पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गरेरै मोदीसँग भेटवार्ता गरेका थिए । ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता हो ।

 

  • ७ आश्विन २०८१, सोमबार ०७:०६ प्रकाशित