यस वर्ष हिले दशैंको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले भनिन्, ‘दशैंसम्म मनसुन रहनसक्ने सम्भावना छ । त्यो भनेको वर्षा हुन सक्छ भनेको हो ।’ सन् २०२२ मा पनि दशैंको टीकाको दिन देशका अधिकांश भागमा वर्षा भएको थियो ।

यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

यस वर्षको अक्टुबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मौसमविदहरु मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल पनि यस वर्ष हिले दशैं हुने बताउँछन् ।

मौसमविदका अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।

नेपालमा विगत एक दशकलाई हेर्दा सरदर मितिभन्दा पछिसम्म मनसुन कायम रहेको देखिएको छ । मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) आउन १० दिन बाँकी छ ।

तर अहिलेसम्म मनसुन बाहिरिने कुनै पनि संकेत नदेखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

  • ६ आश्विन २०८१, आईतवार १५:५४ प्रकाशित