इरानको कोइला खानीमा विस्फोट, कम्तीमा ३० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

तेहरान ।

पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ । ‘तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,’ सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उद्धृत गरी जनाएको छ । यसअघि १९ जनाको मृत्यु भएको जनाइएको थियो ।

खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ । स्थानीय समयअनुसार शनिबार राति ९ः ०० बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ ।

मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको बताइएको छ । सरकारी टेलिभिजनले घाइतेलाई अस्पताल पुर्याउन एम्बुलेन्स र हेलिकप्टर घटनास्थलमा पुगेको फुटेज प्रसारण गरेको छ । इर्नाले सार्वजनिक गरेको अनलाइन फुटेजमा केही पीडितको शव खानीको ठेलामा राखेर घटनास्थलबाट बाहिर निकालिएको देखिएको छ ।

न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रस्थान गर्नुअघि राष्ट्रपति मसूद पेजेस्कियानले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् । ‘दुर्भाग्यबस, तबासको एउटा कोइला खानीमा एउटा दुर्घटना भएको छ र हाम्रा धेरै प्रियजनहरूले ज्यान गुमाएका छन्। म उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गर्दछु,’ पेजेस्कियानले भने ।

इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफले ‘आपतकालीन फलोअप’ सुनिश्चित गर्न र पीडित र उनीहरूका परिवारका लागि सहयोग सुनिश्चित गर्न मन्त्रिपरिषद्का सदस्यहरूसँग कुराकानी गरेको इर्नाले जनाएको छ। इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ।

स्थानीय अभियोजक अली नेसेईलाई उद्धृत गर्दै इर्नाले भनेको छ, ‘खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको छ।’ ‘अहिले हाम्रो प्राथमिकता घाइतेलाई सहयोग गर्नु र भग्नावशेषमुनिबाट मानिसहरूलाई निकाल्नु हो,’नेसेईले भने । उनले भने, ‘सम्बन्धित संस्था वा खानीका अधिकारीको लापरबाही र गल्तीबारे छानविन गरिनेछ ।’

  • ६ आश्विन २०८१, आईतवार १५:३२ प्रकाशित