मोरङमा घरमा मृत भेटिए ससुरा, ज्वाईं फरार

केन्द्रभाग मिडिया

विराटनगर ।
मोरङमा घर भित्रै एक पुरुष मृत अवस्थामा भेटिएका छन । पथरी शनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो ।प्रहरीका अनुसार शनिबार विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ ।

घरमा चन्द्रबहादुर र उनको ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई बस्दै आएका थिए । घटनापछि रविन फरार छन् ।चन्द्रबहादुरकी श्रीमती र छोरी (रविनकी पत्नी) वैदेशिक रोजगारीमा छन् । घरमा भने ज्वाईं ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुरालीको छेउमै छ ।

प्रहरीका अनुसार शुक्रबार राति घरमै मदिरा सेवन ज्वाईं ससुराबीच विवाद भएको थियो । विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ५ आश्विन २०८१, शनिबार १४:२५ प्रकाशित