प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध उजुरी आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँगै बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादव माथि उजुरी आह्वान गरेको छ ।

समितिले सूचना जारी भएको १० दिनभित्र समिति सचिवालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । सूचना दिँदा सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने उल्लेख छ । यद्यपि, सूचनादाताले चाहेमा नाम गोप्य राखिने समेत सूचनामा उल्लेख छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाशमा जाँदैछन् । श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउतले सुनुवाइ प्रक्रिया पूरा भएर प्रधानन्यायाधीश नियुक्त भए १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

साउन अन्तिममा बसेको मन्त्रिपरिषद् बैठकले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । त्यस्तै, भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चित्रलेखा यादवदलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

सरकारले यसअघि अस्ट्रेलियाका लागि कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर, इजरायलको राजदूत हुँदा सहयोगीलाई स्वदेश नफर्काएको उजुरी परेपछि उनको ठाउँमा यादवलाई सिफारिस गरिएको हो ।

  • ४ आश्विन २०८१, शुक्रबार ११:०३ प्रकाशित