परराष्ट्र मन्त्री राणा र क्यानडाली विदेशमन्त्री बीच भेट : नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र क्यानडाली विदेश मन्त्री मेलानी जोलीबिच बुधबार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।

क्यानडाली विदेश मन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री डा राणा क्यानडा पुगेकी हुन् । भेटका क्रममा उनीहरुले दुई देशबिच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताएका थिए । नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदै छन् ।

त्यस भेटमा परराष्ट्र मन्त्री डा राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको सराहना गरिन्। नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने जानकारी मन्त्री डा राणाले दिइन् ।

साथै सो वार्तामा मन्त्री डा राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्‍याएको सहयोगका लागि क्यानडा सरकारलाई धन्यवाद ज्ञापन गरिन्। नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानडाले पुर्‍याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रूपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गरिन् ।

त्यस अवसरमा मन्त्री डा राणाले नेपालमा क्यानडाको राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह पनि गरिन् । उनले एसियाका दुई ठुला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेश मन्त्री जोलीसमक्ष आग्रह पनि गरिन्।

  • ३ आश्विन २०८१, बिहीबार १०:३१ प्रकाशित