सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी छ : महामन्त्री थापा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज (बुधबार) साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् ।

बुधवार काठमाडौँको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले सरकारको न्यूनतम साझा कार्यक्रममा शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको बताए ।

महामन्त्री थापाले आगामी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताए । उनले शिक्षा ऐन दसैँ–तिहार लगत्तै सुरु हुने संसद्को हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताए ।

उनले कांग्रेस, नेकपा एमाले, नेकपा  (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरूले दलगत हिसाबमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए । उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउनसके छिटै शिक्षा विधेयक पारित हुने बताए ।

उनले भने, ‘ आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ । त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दै छौँ । लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहिँ लेख्ने तर संसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन । संसद्ले सँगै काम गर्नुपर्छ ।’

  • २ आश्विन २०८१, बुधबार १६:११ प्रकाशित