पश्चिम म्याग्दीका किसान कोदो खेतीतिर आकर्षित

केन्द्रभाग मिडिया

म्याग्दी ।

तीन दशक अघिसम्म म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिन छाडे । तीन वर्षयता फेरि कोदोखेती गर्ने बढेका छन् । अन्य बालीको तुलनामा कोदोबाट बढी आम्दानी हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

‘गाउँघरमा मात्र होइन सहरबजारबाट पनि कोदो किन्न गाडी लिएर गाउँगाउँमा नै ग्राहक आउन थालेका छन्’, विकले भने, ‘आफूले भनेकै मूल्यमा घरबाट नै बिक्री हुन थालेपछि मैले वर्षौँसम्म बाँझिएको बारीमा खनजोत गरी गत वर्षदेखि कोदोखेती सुरु गरेको हुँ ।’

प्रतिपाथी रु दुई सयका दरले घरबाट नै कोदो बिक्री हुने यहाँका किसानले बताएका छन् । गत वर्ष पाँच मुरी कोदो बेचेर रु २० हजार आम्दानी भएको बताउँदै विकले यस वर्ष खेती राम्रो भएकाले पोहोरको भन्दा बढी आम्दानी हुने आशा गरे ।

स्थानीय सरकारले परम्परागत बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि विकजस्तै यहाँका किसान पनि कोदोखेतीतर्फ आकर्षित भएका हुन् । मालिका गाउँपालिकाले स्थानीय हावापानी र माटो सुहाउँदो अन्न तथा नगदेबालीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । स्थानीय सरकारको यस्तो नीतिले किसानमा आशा जागृत भएको मालिका गाउँपालिका–२ की टीकाकुमारी पुनले बताइन् ।

यस वर्ष पश्चिम म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका किसानका अधिकांश बारीमा कोदो लगाइएको छ । मालिका गाउँपालिका–६ का किसानले यस वर्ष साढे दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गर्ने लक्ष्य लिएका स्थानीय रणबहादुर सिउथानीले बताए । उनका अनुसार गत वर्ष दुई सय मुरी कोदो उत्पादन भएको थियो ।

पौष्टिक तत्वले भरिपूर्ण कोदो बालबालिकाका लागि मात्र नभई वयस्कका लागि पनि उपयुक्त खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका बासिन्दाले यसको व्यावसायिक खेती गरेर परम्परागत बालीको संरक्षणमा लागेको मालिका गाउँपालिका–५ देवीस्थानका किसान टेकबहादुर सिउथानीले बताए ।

देवीस्थानमा मात्र पाँच सय रोपनीभन्दा बढी क्षेत्रमा व्यावासायिक कोदोखेती गरिएको छ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी बिक्री गर्न सक्ने हो भने वार्षिक लाखौँ आम्दानी गर्न सकिने स्थानीय तीर्थबहादुर विकले बताए ।

  • २ आश्विन २०८१, बुधबार ०९:४७ प्रकाशित