काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि सुरु भएको राष्ट्रिय भेलामा आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ।
जारी प्रतिवेदन अनुसार रास्वपाको आम्दानी भन्दा खर्च बढी देखिएको छ । एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी आम्दानी गरेको छ । भने रास्वपाले एक वर्षमा पार्टी सञ्चालन गर्ने क्रममा साढे ५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ ।
सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी सो पार्टीले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको हो ।
पार्टीको मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्दै सो जानकारी दिएकी हुन् ।
उनका अनुसार सदस्यता शुल्कबाट १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ, चन्दाबाट १ करोड ११ लाख ३४ हजार ९०९, लेभीबाट ७७ लाख १८ हजार ३३३, ब्याज आयबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७०० रुपैयाँ आम्दानी भएको छ ।
सो पार्टीले आर्थिक वर्ष २०७८र०७९ मा ४ लाख १० हजार १० रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा ६ करोड १२ लाख ४४ हजार आम्दानी गरेको थियो ।
रास्वपाले एक वर्षमा पार्टीले ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ खर्च गरेको उल्लेख छ।जसअनुसार आर्थिक वर्ष २०८०र०८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ । यस्तै पुँजीगत खर्च २ करोड ७५ लाख, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ ।
खर्च विवरणअनुसार कार्यालय खर्च शीर्षकमा चिया तथा खाजामा नै झन्डै १७ लाख खर्च भएको छ । प्रतिवेदनमा चिया तथा खाजा शीर्षकमा १६ लाख ७८ हजार ३९६ रुपैयाँ खर्च भएको उल्लेख छ ।