काठमाडौं ।
बजेट अभावले सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूूषण पाँच वर्षदेखी अवरुद्ध बनेको छ । विद्याभूूषण पदकमा प्रयोग हुने सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा सरकारले पाँच वर्षदेखि विद्याभूषण पदक वितरण गर्ने काम अवरुद्ध हुन पुुगेको ो ।
विभिन्न तहका सर्वोत्कृष्ट विद्यार्थीलाई सरकारले हरेक वर्ष राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदी जडित विद्याभूषण पदकबाट विभूषित गर्ने चलन छ । तर २०७६ देखि २०८० सम्मका सर्वोत्कृष्ट विद्यार्थीले पदक पाएका छैनन ।
सरकारले यसपालि पनि नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवं छात्रा पुरस्कार पदक पाउने विद्यार्थीको सूची शिक्षा दिवसका अवसरमा असोज २ मा सार्वजनिक गर्ने कार्यतालिका छ । तर बजेट अभावको कारण देखाउँदै शिक्षा मन्त्रालयले पदक नै बनाएको छैन ।
शिक्षा मन्त्रालयले गत बुधबार सूचना जारी गरेर पदक र प्रमाणपत्र वितरण कार्यक्रमको मिति पछि प्रकाशन गरिने जनाएको छ । गत वर्ष ९ सय ६२ छात्रछात्रालाई विद्याभूषण पदकबाट विभूषित गर्ने निर्णय भएको थियो । तर सुनचाँदी जडित पदक बनाउने रकम नभएको भन्दै वितरण गरिएन ।
शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव कमलप्रसाद पोखरेलले बजेट अभावका कारण पदक वितरण गर्ने अवस्था नरहेको बताए । ‘बजेट नभएकाले पदक र प्रमाणपत्र वितरण कार्यक्रम अहिलेलाई थाती राखियो । नाम भने सार्वजनिक गर्छौं,’ उनले भने, ‘खर्च जुटाउने प्रयास भइरहेको छ, जुटाउन नसकिए प्रमाणपत्र मात्र दिने कुरा पनि भएको छ ।’ यो वर्ष करिब ३ सय विद्यार्थीले पदक पाउने सम्भावना छ ।
२०७६ यताका करिब साढे १२ सय विद्यार्थीलाई पदक, पुरस्कार, प्रमाणपत्र वितरण गर्न ६ करोड खर्च लाग्ने अनुमान गरिएको छ तर यसका लागि ६० लाख मात्र बजेट विनियोजन भएको छ । मन्त्रालयका एक उपसचिवका अनुसार एउटा पदक बनाउन लगभग ३० हजार खर्च लाग्छ । गत वर्ष शिक्षा दिवसमा पदक र पुरस्कार पाउनेको सूची सार्वजनिक गरेर प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ मा वितरण गरिने मन्त्रालयले जनाएको थियो ।
बजेट जोहो नहुँदा त्यतिबेला पनि वितरण गरिएन । शिक्षा मन्त्रालयका एक अधिकारीअनुसार गत वर्ष अर्थ मन्त्रालयसँग बजेट माग गरे पनि विनियोजित बजेटबाटै व्यवस्था गर्न भनिएको थियो । यो वर्ष पनि पदकका लागि पर्याप्त बजेट व्यवस्था गरिएको छैन ।