पोखरा ।
पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि अहिले केहीबेरमा मतगणना सुरु हुँदैछ । पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पवन कुमार प्रजापतीका अनुसार अहिले ८ बजेदेखि मतगणना गर्ने तयारी भइरहेको छ । मतदान सकिएलगत्तै हिजो साँझ उम्मेदवारहरुसहितको सर्वपक्षीय बैठकले मतगणना अहिले विहान गर्ने निर्णय गरेको हो ।
संघको अध्यक्षका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की प्रतिस्पर्धामा छन् । कार्की वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन् । उनी कार्यकारिणी सदस्य, उद्योग उपाध्यक्ष, बरिष्ठ उपाध्यक्षहुँदै अध्यक्षका उम्मेदवार बनेका हुन् ।
पोखरेल भने अघिल्लो कार्यकालमा अध्यक्षका प्रत्यासी थिए । सदस्य, उपमहासचिव र महासचिव हुँदै अघिल्लो कार्यकालमा अध्यक्षमा पराजित उनी दोश्रो पटक अध्यक्षका लागि प्रतिस्पर्धा गरेका हुन् ।
संघको अध्यक्ष र उपमहासचिवबाहेक अन्य पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचाय, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका हुन् ।
संघको उपमहासचिवमा भने बालकृष्ण कोईराला र सुदीपमान प्रधानाङ्ग चुनावी मैदानमा छन् । कोईराला पोखरेल प्यानलका हुन् भने प्रधानाङ्गले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनलाई अध्यक्षका उम्मेदवार कार्कीको समर्थन छ ।
संघको खुल्ला १० सदस्यका लागि जम्मा १४ जनाले प्रतिस्पर्धा गरेका छन् । जसमा पोखरेल प्यानलबाट सौगात थापा, जीवनप्रकाश श्रेष्ठ, टिकाराम सुवेदी (माधव), प्रेमप्रसाद सुवेदी, यादवप्रसाद पोखरेल, लेखनाथ सुवेदी, दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, भीम गौतम, ललितबहादुर कुँवर उम्मेदवार छन् । त्यसबाहेक रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे), विष्णुप्रसाद तिमिल्सिना, प्रदीप राजभण्डारी, बिनोद केसी प्रतिस्पर्धामा छन् ।
संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार मतदान भएको थियो । जसमा २ हजार २ सय २७ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । कुल २ हजार ६ सय ७६ जना उद्योगी व्यवसायी मतदाता रहेकोमा ४ सय ४९ जना उद्योगी व्यवसायी मतदाता अनुपस्थित रहे ।














