शरणार्थी प्रकरणमा बालकोट र बुढानीलकण्ठतिर सुई सोझिएपछि सरकार ढल्यो : प्रचण्ड

केन्द्रभाग मिडिया

विराटनगर ।
भुटानी शरणार्थी प्रकरणको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । शनिबार मोरङमा आयोजित पार्टी कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार भएपछि सरकार ढलेको उनको भनाइ रहेको थियो ।

‘भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरियो, सुशासनको सुई बालकोटतिर पनि सोझियो, बुढणनीलकण्ठतिर पनि सोेझियो । जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो एउटा डर, एउटा भय’, प्रचण्डले भने, ‘त्यसैकारण राम्रो काम गर्न खोज्दा खोज्दै कुनै पनि अभियोग नलाग्दा नलाग्दै पनि तथाकथित संख्याको बलमा बडो अप्राकृतिक रुपमा अस्वाभाविक रुपमा आफ्नै नेता कार्यकर्तालाई जानकारी नदिई पहिलो र दोस्रो पार्टीका बीचमा गठबन्धन भयो र सरकार बदलिने परिस्थिति बन्यो ।’

प्रचण्डले बालकोट भनेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको घर र बुढानीलकण्ठ भनेर कांग्रेस सभापति शेरबहादुर देउवाको घर रहेको ठाउँलाई लक्षित गरेका हुन् ।पूर्वप्रधानमन्त्री प्रचण्डले आफूले सत्तारुढ दललाई दुई तिहाइको अहंकार नदेखाउन आग्रह गर्ने क्रममा बंगलादेश र श्रीलंकाको उदाहरण दिएको बताए । ‘मैले उनीहरुलाई सम्झाएको मात्र छु, दुई तिहाइको यदि तपाईहरुलाई अहंकार आयो भने धेरै टाढा जानुपर्दैन बंगलादेश हेरे पुग्छ, त्यहाँ पनि दुई तिहाइ एउटै पार्टीको थियो’, उनले भने ।

आफूले खबरदारी गरेको विषयलाई कांग्रेस र एमाले नेताहरुले ‘बंगलादेश बनाइदिन्छु भन्यो’ भनेर प्रचार गरेको भन्दै प्रचण्डले भने, ‘मैले त खबरदारी गरेको मात्र हो, तपाईहरु त्यता हेर्नुस्, दुई तिहाइको अहंकार गर्न छाडेर जनताको सेवा गर्नुस् भनेर सुझाव पो दिएको हो ।’

  • २९ भाद्र २०८१, शनिबार १८:५३ प्रकाशित