गलकोट दुर्घटनाका मृतकको शव परीक्षण हुँदै, साँझ परिवारलाई बुझाइने

केन्द्रभाग मिडिया

बागलुुङ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज (शनिवार) साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ । शुक्रबार बिहान गलकोट नगरपालिकाको भुङ्खानीमा काठमाडौंदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो ।

मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानैदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो ।

घटनामा गम्भीर घाइते २९ वर्षीय चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

  • २९ भाद्र २०८१, शनिबार ११:५२ प्रकाशित