काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक आज ९शुक्रबार० साँझ ५ बजेका लागि बोलाएका छन् । परिषदको अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि ओलीले दोस्रो पटक संवैधानिक परिषदको बैठक बोलाएका हुन् । यसअघि बुधबार परिषदको बैठक बोलाए पनि स्थगित भएको थियो ।
शुक्रबार बस्ने परिषद् बैठकको तयारी स्वरुप बिहीबार प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा छलफल भएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले सम्भव भएसम्म शुक्रबार नै संवैधानिक निकायका रिक्त सबै पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सिफारिस गर्नुपर्ने धारणा राखेका थिए ।
प्रमुख प्रतिपक्ष दलले नै संवैधानिक निकायमा छिटै नियुक्ति गर्न माग गरेपछि प्रधानमन्त्री र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवाका लागि सहज भएको थियो । प्रमुख दलका शीर्ष नेताबिचमा भएको उक्त सहमतिले शुक्रबारको बैठकमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा सिफारिस हुन सक्ने देखिन्छ ।
सर्वोच्च बाहेक अन्य ६ संवैधानिक पद रिक्त छ । उक्त पदमा राजनीतिक भागबन्डाको आधारमा नियुक्तिका लागि सिफारिस हुनेछ ।