गरिबी न्यूनीकरणका गर्न कृषिमा लगानी बढाउनु पर्छ : कृषिमन्त्री अधिकारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो २०८१ को उद्घाटन कार्यक्रममा बोल्दै उनले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताएका हुन् ।

लगानी दशकका लागि बैँक तथा वित्तीय संस्थामार्फत कृषिको विशेष उत्पादनहरूमा लगानी सहजीकरण गर्नेपनि मन्त्री अधिकारीले बताए । ‘निजी क्षेत्र र सहकारी क्षेत्रको लगानी अपेक्षा गरे अनुरूप हुन नसक्दा कृषि क्षेत्रको आधुनिकीकरण व्यवसायीकरण हुन सकिरहेको छैन,’उनले भने,‘कृषिमा निजी क्षेत्रले लगानी गर्ने वातावरण निर्माण गर्न जरुरी छ ।’

मन्त्री अधिकारीले नेपालमा उत्पादित कृषि उपजले सहज रूपमा बजार नपाइरहेको अवस्थामा एक्स्पो वा महोत्सवका माध्यमबाट स्वदेशी उत्पादनको खपतमा सहज हुने तथा बजारको सम्भाव्यताबारे जानकारी हुने समेत बताए ।

नेपाली बजारमा दुधको खपत नहुँदा दुग्ध किसान तथा व्यवसायी मर्कामा परिरहेको बताउँदै मन्त्री अधिकारीले देशमै दुग्ध पदार्थको विविधीकरणका साथै बजारी करणको खोजी गर्न आवश्यक रहेको बताए । दुग्ध विकास संस्थानमार्फत किसानलाई उपलब्ध गराउनु पर्ने दुधको मूल्य भुक्तानीका लागि सरकारले काम गरी रहेको जानकारी गराउँदै उनले भने,‘अब भुक्तानीको चरणमा रहेको छ । दुग्ध विकास संस्थानमार्फत दुधको बक्यौता छिटै समाधान हुनेछ ।’

  • २७ भाद्र २०८१, बिहीबार १६:२० प्रकाशित