काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताएका छन् ।
चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले त्यस्ता बुवाआमालाई सधैँ समाजले सम्झिरहने बताए ।
सन्तानलाई हुर्काउन, बढाउन र पढाउन सङ्घर्ष गर्दै आफूलाई वामपन्थी रुझानबाट अघि बढाउँदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीति सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि बिरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताए ।
धेरै कठिनाइका बिचबाट पनि दुलालले सामाजिक क्षेत्र, वामपन्थी झुकाव हुँदै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्दै अध्यक्ष प्रचण्डले यस्ता विशिष्ट व्यक्तित्वहरू सधैँ समाजको अग्रस्थानमा रहने बताए ।