पोखरा ।
ढुवानी अभावका कारण उत्तरी गोरखाका किसानहरूले उत्पादन गरेका स्याउ बजार झार्न समस्या भएको छ । व्यावसायिक स्याउ खेती गरेका लाक्पा डुण्डुप लामाको फार्ममा उत्पादन भएको करिब ५ लाख किलो स्याउ गोदाममै थन्किएको हो ।
कोभिडको समयमा प्रदेश सरकारको बिरुवामा ७० प्रतिशत अनुदान पाएका किसानहरूले उत्तरी गोरखामा धमाधम स्याउ खेती थालेका छन् । लामाले १२ हजार ५ सय बोट लगाएका थिए । सबै बोटबाट उत्पादन सुरु भएपनि बजारसम्म पुर्याउन नसकिएको बताए । ‘एउटै बोटमा ४५ किलोसम्म फलेको छ । सबै टिपेर गोदाममा राखेका छौँ,’ उनले भने, ‘काठमाडौँ लैजान पाए राम्रो आम्दानी हुन्थ्यो । ढुवानी समस्याले लैजान सकिएन ।’
अहिले पर्यटनको सिजन भएका कारण पर्यटक पुर्याउन गएको हेलिकोप्टर मार्फत काठमाडौँ लैजान पहल भइरहेको उनले सुनाए ।
अघिल्लो वर्ष लामाले प्रतिकिलो ४ सय ९० रुपैयाँ प्रतिकिलोसम्म काठमाडौँमा स्याउ बेचेका थिए । गाउँमै पनि पर्यटक र स्थानीयलाई २ सय ५० देखि ३ सय ५० सम्ममा बिक्री भएको थियो । अहिले उत्पादन पनि बढेको र विक्री पनि कम भएकोले २ सय ५० मै बेचेको लामा बताउँछन् ।
‘अहिले पोहोरभन्दा दोब्बर बढी स्याउ उत्पादन भएको उनको अनुमान छ । प्रदेश सरकारले मनाङ, मुस्ताङ र उत्तरी गोरखामा इटालीबाट आयात गरिएका उच्च घनत्व भएका स्याउका बेर्ना किसानलाई व्यावसायिक खेतीका लागि अनुदानमा उपलब्ध गराएको थियो । त्यहाँका किसानले पनि ५ सय देखि हजारौँ बोटसम्म खरिद गरेका छन् ।
उत्तरी गोरखामा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार २ वर्षभित्रै स्याउखेती भएका ठाउँसम्म गाडी पुग्छन् ।
किसानहरूको फर्ममा ५ थरीसम्मका स्याउका बोट छन् । गाला र रेड डेलिसियस पाकिसकेका छन् । अरु स्याउ पाक्ने क्रममा रहेको किसानहरू बताउछन् । चुमनुब्री गाउँपालिकामा ६० परिवार हाराहारी व्यावसायिक किसान छन् ।














