पोखरा ।
झण्डै २ महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दैँ छ । गत असार २६ गते बैठक बसेर स्थगित गण्डकी प्रदेश सभाको बैठक झण्डै दुई महिनापछि बस्न लागेको हो ।गत असार १८ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । त्यसपश्चात बैठक बस्न सकेको थिएन ।
लामो समय सत्ता समीकरणको उलटफेरका कारण रोकिएको गण्डकीको संसद् बैठक आजबाट नियमित चल्ने भएको छ । सभामुख कृष्णप्रसाद धितालले आज २ बजेका लागि बैठक बोलाएका छन् ।
आजको बैठकमा सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउनेछन् भने शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना कुरा राख्नेछन् । संसद् बैठकमा महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पनि पेस हुनेछ ।
यस्तै, संसदमा यसअघि नै टेबुल भैसकेको जीवनाशक विषादी व्यवस्थापन विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार र मर्मत सम्भार गर्ने विधेयक सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ ।
आजकै संसद् बैठकमा २ वटा विधेयकहरू टेबुल हुनेछन् । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्ने विधेयक र केही प्रदेश ऐन संशोधन विधेयक सभामा पेस हुने संसद् सचिवालयले जनाएको छ ।