चार प्रदेशमा भारी वर्षासहित दुई प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

  • २६ भाद्र २०८१, बुधबार ०५:५१ प्रकाशित