पोखरा ।
गण्डकी प्रदेश अनुगमन टोलीले राजमार्ग लक्षित अनुगमन गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीका निर्देशक इश्वरी प्रसाद रेग्मी नेतृत्वको अनुगमन टोलीले सोमबार सिद्धार्थ राजमार्गको छेउमा रहेका होटल तथा रेष्टुरेन्टहरुलाई केन्द्रित गरेर अनुगमन गरेको हो । निर्देशक रेग्मीले अनुगमन समितिको नियमित अनुगमन र उपभोक्ताको गुनासोलाई समेत मध्यनजर गर्दै सिद्धार्थ राजमार्ग अन्तर्गत नागडाँडा र भालुपहाडमा रहेका होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको बताए ।
अनुगमनका क्रममा केही रेष्टुरेन्टलाई जरिवाना गराइएको र केहीलाई सम्झाईबुझाई एक हप्ताको समय दिएर सुधारका लागि निर्देशन दिएको उनले जानकारी दिए । एक दर्जन भन्दा बढी होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनका क्रममा अधिकांश होटल तथा रेष्टुरेन्टले बिल बीजक नै जारी नगरेका पाएको, केहीले बिना दर्ता तथा केहीले एउटा नाममा दर्ता गरेर अर्कै नामको बोर्ड राखेर सञ्चालन गरेको पाइएको उनले बताए । साथै खानेकुरा बनाउँदा विभिन्न रङको प्रयोग गरेको पाइको समेत उनले जानकारी दिए ।
अनुगमनका क्रममा म्याद गुज्रेका केही पेयपदार्थ नष्ट समेत गरिएको उनले बताए । उपभोक्ता हित विपरित काम गरेका दुई रेष्टुरेन्टलाई पाँच हजारका दरले जरिवाना गरिएको, कूनैपनि खाजा घर, रेष्टुरेन्ट र होटलमा मूल्यसूचि नराखेको पाइएकाले मूल्यसूचि राख्न, खानेकूरा बनाउँदा रङको प्रयोग नगर्न निर्देशन दिइएको, दर्ता नगरेका होटल रेष्टुरेन्टलाई सम्बन्धित ठाउँमा एक हप्ता भित्र दर्ता गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिइएको उनले बताए । यद्यपी पहिलेभन्दा अहिले अनुगमनका क्रममा धेरै कूरामा सुधार भने भएको पाइएको उनले जानकारी दिएका छन् ।
उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले उपभोक्ता र व्यवसायी दुबै सचेत हुनुपर्ने बताए । उपभोक्ता सचेत भए गुणस्तरमा सुधार आउने उनको भनाई थियो । कूनै एक बस्तु वा सेवाको व्यवसायी अरु धेरै बस्तु तथा सेवाको उपभोक्ता हुनेभएकाले व्यवसायीले पनि उपभोक्ताको दृष्टिकोणबाट सोच्नुपर्ने उनको भनाई थियो ।
अनुगमनमा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत नगेन्द्र पौडल र विष्णुदेवी पोखरेल, कर्मचारी संगिता पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीका अधिकृत शिवजी बराल, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी, प्रहरी प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो ।














