रुपन्देही ।
लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी एकै दिनमा रिहा भएका छन् । कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । आइतबार अदालतमा आत्मसमर्पण गरेका उनी कारागार पठाइए पनि भित्र नबसी बाहिरै बसेका थिए ।
रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका थिए । कैद सजाय पूरा नगरेका उनी रुकुम पूर्व जिल्ला अदालतमा आइतबार उपस्थित भएका थिए ।
उनले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन् ।
जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो । निवेदकले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएको रिजाले जानकारी दिए ।
२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।