काठमाडौं ।
प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ ।
यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो ।
सोमबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गरे । त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराए ।
दुई मिनेटपछि स्वचालित रुपमा सांसदको माइक काटिने प्रावधान पनि सभामुख घिमिरेले लागू गरेका छन् । यसअघि आकस्मिक समयमा तीन मिनट दिने गरिएको र तीन मिनेटमा समेत सभामुखले समय थप गर्न सक्ने गरी विवेकमा छाडिएको थियो ।
तर, यसो गर्दा आकस्मिक समय व्यवस्थित हुन नसकेको भन्दै सभामुख घिमिरेले समय घटाएर त्यसमा पनि स्वचालित रुपमा माइक काटिने प्रावधान लागू गरेका हुन् ।
प्रतिनिधि सभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ ।यसैमा आकस्मिक समयको प्रावधान समेत समावेश गरिएको छ ।