युट्युब हेर्दै अप्रेसन गर्दा बिरामीको ज्यान गयो, डक्टर फरार

केन्द्रभाग मिडिया

एजेन्सी ।

भारतको बिहारमा युट्युब हेर्दै पत्थरीको शल्यक्रिया गर्दा बिरामीको ज्यान गएको छ । बिरामीको ज्यान गएपछि शल्यक्रियामा संलग्न डाक्टर फरार भएका छन् ।

सारण जिल्लाको मढौरामा १५ वर्षीय किशोर गोलु साहलाई पेट दुख्ने र बान्ता हुने समस्यापछि अभिभावकले शुक्रबार राति स्थानीय एक क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि लगेका थिए ।

पित्त थैलीमा पत्थरी रहेको भन्दै डाक्टरले बालकको अप्रेसन गरेका थिए । यस क्रममा बिरामीको ज्यान गएपछि डाक्टर फरार भएका छन् ।

मृतकका हजुरबुबाले बताए अनुसार डाक्टरले युट्युबमा भिडियो हेर्दै अप्रेसन गरेका थिए । आफूले डाक्टरलाई यसबारे सोध्दा उल्टै हप्काएको मृतकका हजुरबुबाले बताएका छन् ।

किशोरको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि डाक्टरले नै एम्बुलेन्स बोलाएर बिरामीलाई पटनातर्फ लगेका थिए । बिरामीका साथ उनकी हजुरआमा पनि गएकी थिइन् । तर बाटोमै किशोरको ज्यान गएपछि डाक्टर फरार भएको बताइएको छ ।

उक्त घटनाका सम्बन्धमा जानकारी पाएपछि प्रहरीले उक्त क्लिनिकमा छापा मारेको छ । फरार चिकित्सकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • २३ भाद्र २०८१, आईतवार १६:५७ प्रकाशित