प्रतिक्रान्तिका हर्कत भइरहेछ, यसविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक छ : प्रचण्ड

केन्द्रभाग मिडिया

file photo

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक भएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थिति आएको बताए ।

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए । ‘हामीले गरेको परिवर्तनकारी र बलिदानपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ’– उनले भने– ‘तर, जसको मुख्य कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध सङ्घर्षको सङ्कल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

आफूहरू शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रूपमा जारी रहने बताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने– ‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौँ– गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पुँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोसिस गर्नेछौँ । त्यहाँनेर गएर फेरि अर्को सङ्घर्ष हुन्छ भनेका थियौँ, अब राजनीतिक त्यतै जाँदै छ । दलाल पुँजीपति र नोकरशाहीहरुसँग सङ्घर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा सङ्घर्ष अघि बढाउनैपर्छ ।’

  • २३ भाद्र २०८१, आईतवार १०:३३ प्रकाशित