कास्कीमा मनाइयो साक्षरता दिवस

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरू बिच चेतनामुलक तीज गित प्रतियोगिताको आयोजना गरि सो दिवस मनाइएको हो ।

प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाडा सामुदायिक सिकाइ केन्द्र प्रथम ,पोखरा महानगर पालिका वडा न २५ स्थित बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र द्वितीय , पोखरामहानगर पालिका वडा न २९ को दिपशिखा सामुदायिक सिकाइ केन्द्र तृतीय र माछापुच्छ्रे गाउँपालिकाको मर्दिखोला सामुदायिक सिकाइ केन्द्रले सान्त्वना हासिल गरे ।

कास्कीका कुल सात वटा सामुदायिक सिकाइ केन्द्रका समुह सहभागी प्रतियोगितामा बिजयी समुहले क्रमश नगद दस हजार, सात हजार, पाँच हजार र तीन हजार सहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको जिल्ला शिक्षा समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।

पौडेलले सांस्कृतिक पर्व तीज सुसंस्कृत र समय सान्दर्भिक हुनुपर्ने भन्दै प्रतियोगिताले कास्कीका सामुदायिक सिकाइ केन्द्रहरू बिच आपसी भाइचारा वृद्धिमा महत्वपूर्ण भुमिका खेलेको बताए । साक्षरता सहित सामुदायिक सिकाइ र बिकासमा केन्द्रहरूको महत्वपुर्ण भुमिका रहेको हुँदा सिकाइ केन्द्रहरू थप ब्यबस्थित बनाउन आफू प्रयत्नशील रहने र त्यसको लागि समन्वयात्मक तवरले लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी , रूपा गाउपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङ ,अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी , पोखरा महानगर पालिका कार्यपालिका सदस्य निर्मला पौडेल ,राष्ट्रिय परिक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देबकोटा , कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल , कलाकार होम नेपाली सहितले मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका शाखा अधिकृत टंक बराल र शाखा अधिकृत भरतराज बरालले संचालन गरेका थिए ।

  • २२ भाद्र २०८१, शनिबार १९:०६ प्रकाशित