समाजवादको भाष्यलाई सबैभन्दा बढी ओलीजीले नै बिगारिदिनुभयो : महासचिव भुसाल

केन्द्रभाग मिडिया

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको आरोप लगाएका छन् ।

शनिबार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो आरोप लगाएका हुन् । उनले चुच्चे रेल र टावरहरूको कुरा गरेर प्रधानमन्त्री ओलीले समाजवादको भाष्य बिगारेको बताए ।

‘अलिकति पपुलिज्मले पनि हाम्रो समाजवाद बिगार्‍यो । यो व्यक्तिगत दोषारोपण जस्तो पनि सुनिन सक्छ, हाम्रो समाजवादको भाष्यलाई सबभन्दा बढ्ता त ओलीजीले नै बिगारिदिनुभयो । चुच्चे रेल आउँछ । काठमाडौँमा दुई वर्षमा आउँछ । अर्को वर्ष बेनी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर चुच्चे रेलसँग, टावरहरूसँग, केसँग भाष्य बिगारिदिनु भयो उहाँले । प्रधानमन्त्री भनेको मुलुकको सबभन्दा ठुलो शिक्षक हो भन्छु ।

शिक्षकले ५०/६० जना पढाउँला तर प्रधानमन्त्रीले देशको लाखौँ मानिसहरूलाई एक साथ कक्षा लिन्छ भन्छु के । म मन्त्री हुँदा सुनेको, कसरी बिगारिदिनु भयो भाष्य भन्दा खेरी उहाँको मैले पटक–पटक सुनेको, रोपे फलिहाल्छ नि भन्नुहुन्थ्यो के ?  के रोप्ने हो ? कहाँ रोप्ने हो ? कस्तो बिउ रोप्ने हो ? प्रविधि के हो ? पानी चाहिन्छ कि चाहिँदैन ? कति पाइन्छ रु अरू संरक्षण के गर्नुपर्छ रु बजार हुन्छ कि हुँदैन ? किसानले कति पाउँछ ?  कर वा अन्तर्राष्ट्रिय सम्बन्ध यी सारा कुरा छोडिदिएर रोपे फल्छ नि । हाम्रो समाजवादको भाष्य यसरी पनि बिग्रियो ।’

  • २२ भाद्र २०८१, शनिबार १८:५८ प्रकाशित