बागलुङ ।
बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए। बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।
सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो । ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।














