काठमाडौं ।
सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ । असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरुलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो ।
कारागार व्यवस्थापन विभागले असार ९ गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावाली निकालेको थियो । उनीहरु छुटेका छैनन् । विभागले मंगलबार फेरि ४९२ जनाको नामावलीसहित ७ दिने सूचना निकालेको छ । सजाय मिनाहा गर्न लागिएका उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ ।
कारागार व्यवस्थापन विभागका प्रमुख जयनारायण आचार्यले असार ९ गते र भदौ १६ गते निकालिएका नामावलीका कैदीलाई माफी मिनाहाका लागि अब एकैपटक सिफारिस हुने बताए ।
‘हामीले जेठ १५ गते गणतन्त्र दिवसका दिन माफी मिनाहा गर्नु पर्ने थियो तर सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनको प्रक्रियाले त्यतिबेला सम्भव भएन र पछि नामावाली प्रकाशित गर्यौं । कुनै अवसर नपरेकाले उनीहरुको माफी मिनाहा रोकिएको थियो’, आचार्यले भने ।
विभागले अघिल्लोपटक निकालिएको ६२० जनाको सूचीबाट १९ जनाको नाम हटेको जनाएको छ । उजुरी र गुनासो आएपछि उनीहरुको नाम हटाइएको बताइएको छ । अब यसपटक कैद माफी मिनाहाका लागि करिब एक हजार जनाको नाम सिफारिस हुने छ । कारागार व्यवस्थापन विभागका प्रमुख आचार्यले पछिल्लो सूचीमा उजुरीको म्याद सकिएपछि सिफारिस हुने अन्तिम संख्या तय हुने बताए ।














