यातायात बहस

पर्यटकीय राजधानी पोखरामा अबको यातायात व्यवस्थापन कस्तो ?

व्यवसायी भन्छन्, ‘हामी रुपान्तरण गर्न तयार छौं,’ महानगर र यातायात मन्त्रालय भन्छन्, ‘व्यवस्थापनको प्रक्रिया अगाडि बढाइसकेका छौं’

गोविन्द सुवेदी

पोखरा ।

पोखरा देशकै पर्यटकीय राजधानी घोषणा भएसंगै यहाँको यातायात क्षेत्रपनि त्यहीढंगले व्यवस्थित गरिनुपर्ने आवाज उठेको छ । पर्यटकीय राजधानी घोषणा भए अनुरुप यातायात सेवा भरपर्दो, विश्वसनीय र वातावरणमैत्री हुनुपर्नेमा जोड दिइएको छ । यसका लागि  विद्युतीय सवारी साधन सञ्चालनको चर्चासमेत भइरहेको छ । प्रदेश सरकार र पोखरा महानगरले समेत यहाँको सार्वजनिक यातायातलाई विद्युतीकरण गर्नेतर्फ जोड दिएको पाइएको छ ।

पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङ विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न आफूहरु तयार रहेको बताउँछन् । पोखरा देशकै पर्यटकीय राजधानी भएपछि त्यही अनुरुपका सवारीसाधन भित्र्याउनु पर्ने र सेवा दिनुपर्नेमा आफूहरु गम्भिर रहेको उनले बताए । तर, सरकारले पनि यसमा सहयोग गर्नुपर्ने उनको भनाई छ । ‘हामी रुपान्तरणमा जाने भनेर सोच बनाइसकेका छौं । यसका लागि सरकारले पनि सहकार्य गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि चाहिने पूर्वाधार महानगरले निर्माण गरिदिनु पर्दछ ।’

पोखरा यातायात प्रालिले यातायातमा रुपान्तरणकै लागि पूर्वअध्यक्ष बसन्त प्रधानको नेतृत्वमा समिति नै गठन गरेको उनले जानकारी दिए ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले आफूहरु पनि विद्युतीय सवारीसाधन भित्र्याउन तयार रहेको बताए । तर यसको विश्वसनीयताका बारेमा अझै प्रश्न रहेका उनले सुनाए । विद्युतीय सवारीसाधन कत्तिको टिक्छ । सवारीसाधनको मर्मतसंहार गर्ने संयन्त्र कत्तिको तयार हुन्छ जस्ता कूरालाई हेर्नुपर्ने उनले औंल्याए । ‘हामी पोखरामा चल्ने ट्याक्सी सेवालाई विद्युतीयमा रुपान्तरण गर्न तयार छौं । तर त्यसको विश्वसनीयतालाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ’ उनले भने ।

‘नेपालकै पर्यटकीय राजधानीलाई वातावरण मैत्री साधनलाई जोड दिनुपर्छ । नागरिकलाई स्वच्छ वातारणमा जिउनका लागि पेट्रोलियम र डिजेलबाट चल्ने सवारीलाई विस्तारै विस्थापन गर्दै जानुपर्ने हुन्छ भन्ने कूरामा हामी प्रष्ट छौं’ उनले भने, ‘यसका लागि सरकारले नीतिमै प्रष्ट पार्नुपर्छ र निजीक्षेत्रलाई लगानीको वातावरण बनाउनु पर्छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष एवं महानगरमा यातायात व्यवस्थापन समितिका उपाध्यक्ष अमृत शर्मा तिमिल्सिना ग्रामिण क्षेत्रबाहेक सहरी क्षेत्रमा इलेक्ट्रिक सवारीमा जाने तर्फ उन्मुख रहेको बताउँछन् । विद्युतीय सवारी साधन भित्र्याउन र सञ्चालनमा सहज बनाउन चार्जिङ स्टेसन निर्माण लगायतका कार्यमा महानगरले बजेट छुट्याएरै तयारी गरेको उनले बताए ।

२० वर्ष पुगेर विस्थापन भएका ट्याक्सीको हकमा प्रतिस्थापन गर्दा अनिवार्य रुपमा विद्युतीय साधन भित्र्याउँन लगाउने उनले उनको भनाई छ । पोखरामा चल्ने अन्य सार्वजनिक सवारी नयाँ ल्याउँदा विद्युतीय सवारी साधन ल्याउन प्रोत्साहन गर्ने उपाध्यक्ष तिमिल्सिनाले बताए । साथसाथै कुन रुटमा कस्ता सवारीसाधन सञ्चालन गर्ने भन्नेसमेत निर्कोल गरी मापदण्ड निर्धारणको तयारीमा रहेको उनले जानकारी दिए । निजी क्षेत्रलाई साथमा लिएर नै यस तर्फ अगाडि बढ्ने उनले प्रष्ट्याए ।

महानगरका मेयर धनराज आचार्यको मनिला भ्रमणमा पोखराको यातायात व्यवस्थापनका लागि महत्वपूर्ण सम्झौता भएको उनले बताए । एडीबीको एक टोली पोखरा आएको र कसरी यहाँको यातायात व्यवस्थापन गर्ने भनेर त्यसको तयारी स्वरुप महानगरको नेतृत्वमा पोखरा यातायात प्रालिका देवि कुइँकेल, ट्याक्सी व्यवसायी समितिका शोभाकान्त पौडेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको प्रमुख सम्मिलित कार्यदल बनेको उनले जानकारी दिए ।

पोखराको यातायात व्यवस्थापनले फड्को मार्नेवाला छ : महानगर प्रमुख आचार्य

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको यातायात व्यवस्थापनमा महत्वपूर्ण कामको तयारी अगाडि बढेको बताए । पोखरा देशकै राजधानी घोषणा भएपछि यहाँको यातायात त्यहीढंगले अगाडि बढाउने विषयमा दातृ निकायसंग सहकार्य गरिएको उनले जानकारी दिए । ई मोविलिटी प्रोजेक्ट सञ्चालन  गर्न  ५८ ठाउँमा साना बसपार्क, आवश्यकता अनुरुप चार्जिङ स्टेशन लगायतका कामका लागि एडीबीले सहयोग गर्ने उनले जानकारी दिए । त्यसका लागि एक सय मिलियन डलर खर्चगर्ने गरी छलफल भएको छ ।

अघिल्लो हप्ता  मात्र एडीबीका प्रतिनिधि अरुण कृष्ण मुर्तीकोे नेतृत्वमा आएको टोलीले यातायात व्यवसायीसंग समेत बसेर छलफल गरेको उनले जानकारी दिए । सार्वजनिक सवारीसाधन इलेक्ट्रिक हुने रोड फर्निसिङ र निजी सवारी साधनलाई पनि इलेक्ट्रिक साधन बनाउन सौलियत दरमा ऋण उपलब्ध गराउने विषयमा छलफल भएको उनको भनाई छ ।  प्रमुख आचार्यले व्यवसायी र सबै सरोकारवालाको साथ र सहयोगले पर्यटकीय राजधानी पोखराको यातायात व्यवस्थापन उदाहरणीय बन्ने अपेक्षा गरे ।

योजनवद्धढंगले अगाडि बढ्दै छौं : यातायात व्यवस्थापन महाशाखा प्रमुख रेग्मी

विद्युतीय सवारीसाधनमा जोड  दिँदै भौतिक संरचना र नीतिगत औप्ठ्यारा हटाउन यातायात व्यवस्था मन्त्रालय लागि परेको गण्डकी प्रदेशका यातायात व्यवस्था महाशाखा प्रमुख प्रदिप कुमार रेग्मी बताउँछन् ।

उनले यसका लागि दातृनिकायसंग समेत छलफल भइरहेको बताए । एउटा संयन्त्र नै बनाएर यहाँको यातायात व्यवस्थालाई सहज, सर्वसुलभ र वातावरणमैत्री बनाउनेगरी अगाडि बढेको उनले जानकारी दिए ।

‘मन्त्रालय जिम्मेवारीपूर्ण ढंगले पोखरा र समग्र प्रदेशको नै यातायात व्यवसथापन गर्नेगरी योजनावद्धढंगले अगाडि बढ्दैछ । त्यसका लागि चार्जिङ स्टेसन देखि विभिन्न पूर्वाधार बनाउने तयारीमा छौं । यसका लागि बजेटको पनि व्यवस्थापन भएको छ’ उनले भने ।

  • १९ भाद्र २०८१, बुधबार १६:५८ प्रकाशित