दुई छोरीलाई विष खुवाएर मारेको आशङ्का गरिएकी महिला पक्राउ

केन्द्रभाग मिडिया

विराटनगर ।

दुई छोरीलाई विष खुवाएर बेपत्ता भएको आशङ्का गरिएकी मोरङ सुन्दरहरैंचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । अस्मितालाई प्रहरीले बुधबार बिहान फेला झापा विर्थाकमेडबाट पक्राउ गरेको हो ।

घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । मोरङ प्रहरीका अनुसार उनको शारीरिक अवस्था कमजोर छ ।

अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् । तर, दुवै छोरीको शव शनिबार दिउँसो केरा बारीमा फेला परेको थियो । आमा भने भेटिएकी थिइनन् ।
प्रहरीले छोरीलाई विष खुवाएर हत्या गरेको निष्कर्ष निकालेको छ ।

प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको श्रीमान् अर्जुन रेग्मीले बताएका छन् । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर यकिन भईनसकेको प्रहरीले जनाएको छ । दुवै बालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ ।

केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो । बालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।

डीएसपी बस्नेतले अस्वास्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि भर्ना गरिएकाले घटनाका सम्बन्धमा धेरै कुरा खुल्न बाँकी रहेको बताए ।

  • १९ भाद्र २०८१, बुधबार १४:२२ प्रकाशित