काठमाडौँ ।
आगामी असोजको पहिलो साता उपनिर्वाचनको मिति तोकिने भएको छ ।स्थानीय तहमा रिक्त स्थानका लागि आगामी उपनिर्वाचनको मिति तोकिने भएको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले सो उपनिर्वाचनको मिति असोजको पहिलो साता तोकिने बताएका छन् ।
प्रमुख आयुक्त थपलियाले यसअघि प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटमा मंसिर तेश्रो सातातिर निर्वाचन गर्नेबारे कुराकानी भएको जानकारी दिए ।
आयोगले निर्वाचनको तयारीका लागि स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग मागेको उनले बताए । यसअघि ३४ ठाउँमा रिक्त भएकोमा त्यसमा थप रिक्त रहेकोबारे जानकारीका लागि आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो ।
प्रमुख आयुक्त थपलियाले भने, ‘स्थानीय तहको उपनिर्वाचन भएको हुनाले हामीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहको रिक्त रहेको आधिकारिक विवरण पठाइदिनू भनेर पत्राचार गरेका छौँ । सँगसँगै हाम्रा जिल्लास्थित निर्वाचन कार्यालयबाट फरक नपर्ने गरी विवरण पठाउन भनेका छौँ ।’ अहिले रिक्त रहेका स्थानीय तहका पदको विवरण सङ्कलन भइरहेको उनले बताए ।
आयोगले उपनिर्वाचनका लागि मतदाता विवरण अध्यावधिक गर्ने काम पनि सुरु गरिसकेको छ । त्यसका लागि नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष पद रिक्त भएका स्थानीय तहमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरिरहेको थपलियाले बताए ।