रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ४० पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको ज्यान गएको छ । पछिल्लो पटक ज्यान गुमाउने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा रहेका छन् । उनीहरुको ठेगाना भने खुलाइएको छैन ।

योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ४० पुगेको छ ।परराष्ट्र स्रोतका अनुसार भदौ १४ सम्म ४० जनाको ज्यान गएको हो ।

असार १० सम्मको तथ्यांक अनुसार ज्यान गुमाउनेको संख्या ३४ थियो । त्यसपछि थप दुई जना संजोग आचार्य र नवीन शाहीको ज्यान गएको थियो । त्यसपछि थप चार जनाको ज्यान गएको हो ।

‘उनीहरुको घर कहाँ हो भन्ने बारेमा भने अझै पत्ता लागिसकेको छैन । व्यक्तिमात्र पत्ता लागेको छ । उनीहरुको घर पत्ता लगाउन सकिएको छैन,’ परराष्ट्र स्रोतले भनेको छ ,‘हामी सम्बन्धित निकायहरुसँग सोधपुछ गरेर काम गरिरहेका छौं ।’

हालसम्म रुस–युक्रेन युद्धमा रुसी सैनिक बनेर भाग लिएका ७ जना नेपालीको नाम खुले पनि उनीहरुको जिल्ला पत्ता लाग्न सकेको छैन ।

सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयले रुस–युक्रेनको युद्धमा परेर मृत्यु हुने नेपालीको बारेमा सुरुवातमा प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिएपनि पछिल्लो समय ज्यान गुमाउनेहरु सबैको नामावली सार्वजनिक गरेको छैन ।

रुस मामिलामा परराष्ट्र मन्त्रालयले पनि जानकारी दिन छाडेको छ । मस्कोस्थित नेपाली दूतावासले पनि परराष्ट्र मन्त्रालयको निर्देशनपछि नेपालीहरुको सम्बन्धमा सूचना प्रवाह गर्न छाडेको छ । दूतावासका कर्मचारीहरु प्रेससँग सम्पर्कमै आउन चाहदैनन् ।

अर्कोतर्फ रुसबाट १७४ जना नेपाली सकुशल घर फर्किएका छन् ।

  • १७ भाद्र २०८१, सोमबार १५:३६ प्रकाशित