गण्डकीमा प्रतिपक्षी माओवादी मात्रै, राप्रपाले समर्थन कायम राख्ने

गोविन्द सुवेदी

पोखरा ।

गण्डकी प्रदेश सरकारमा चारवटा मन्त्रालयसहित नेकपा एमाले सहभागी भएको छ । अघिल्लो सत्तासमिकरण (एमाले–माआवादी) बन्दा माओवादी र एमाले बाहेक नै केन्द्रीय गठबन्घन विपरीत आफूलाई बहुमत जुटाउन सफल मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दु:खमा साथ दिएकालाई नहटाउने अडानमा रहे ।

त्यसका लागि उनले अफ्नो दल कांग्रेस मात्र नभएर सत्ता सहयात्री दल एमालेलाई पनि मनाउन सफल मात्र भएनन्, मन्त्रालयको संख्या ९ बनाएर एमालेलाई ४ र आफूलाई (मुख्यमन्त्रीसहित) ५ मन्त्रालय राखेका मुख्यमन्त्री पाण्डेले आफ्नै पार्टीको कोटामा नेसपाका फणीन्द्र देवकोटा र राजिव गुरुलाई निरन्तरता दिएका छन् ।

मुख्यमन्त्री पाण्डेले देवकोटा र गुरुङलाई निरन्तरता दिनु गठबन्धन संस्कृतिको मर्म विपरित नहुने दाबी गर्छन् । ‘गण्डकीको परिस्थिति फरक हो । केन्द्रमा पनि कांग्रेस–एमालेको मात्र सरकार छैन । त्यहाँ धेरै दल छन् । यहाँपनि रहन्छन् । उहाँहरु (गुरुङ र देवकोटा) दुई जना कांग्रेसकै कोटामा मन्त्री हुनुहुन्छ,’ उनले भने ।

पाण्डे नेतृत्वको वर्तमान सरकारलाई राप्रपाले पनि समर्थन कायम राख्ने भएको छ । राप्रपाकी सांसद विन्दु पहाडीले राप्रपाको समर्थन यथावत रहने केन्द्रभागलाई जानकारी दिइन् । ‘हिजो दु:खमा साथ दिएका हौं । अहिले स्थिरताका लागि दुई ठूला दल मिलेका छन् । यो सरकारलाई हाम्रो निरन्तर समर्थन रहन्छ ।

यसको अर्थ हामी सरकारमा सामेल हुने भन्ने होइन’ उनले भनिन् । आफ्नो दल राप्रपा दुई ठूला दल मिलेर सरकार चलाउन र स्थिरता दिउन भन्ने पक्षमा पहिलेदेखि नै रहेको उनको दाबी छ । पहिले नै दुई दल मिलेको भए सत्ता समिकरण अदलबदल भइरहने र अस्थिर सरकार बन्ने अवस्था नआउने उनको भनाई छ ।

गण्डकी प्रदशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुखसहित), राप्रपाका दुई, नेसपा (माओवादीकै चुनाव चिन्ह लिएर जितेका) एक र एक जना स्वतन्त्र गरेर ६० सदस्य छन् । त्यसमध्ये कांग्रेस, एमाले, नेसपा, एक स्वतन्त्र सांसद मिल्दा र राप्रपाले सरकारलाई समर्थन गर्दा सरकारको पक्षमा ५३ सांसदको समर्थन छ । प्रतिपक्षमा नेकपा माओवादी केन्द्रमात्र छ ।

  • १७ भाद्र २०८१, सोमबार १५:१३ प्रकाशित