‘हेर्ने कथा’बाट चर्चामा आएका प्रकाशलाई घरमै गएर नागरिकता प्रदान

केन्द्रभाग मिडिया

तस्बिर : राजेश राईकाे फेसबुकबाट

काठमाडौं ।

‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् चर्चामा आएका प्रकाश तामाङ्गलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । हेर्ने कथा मार्फत ३५ वर्षपछि प्रकाशले आफ्नो परिवार लाई भेटेका थिए ।

भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ ९साम्पाङ० स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरे ।

गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै हिजो भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद अधिकारीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९-०२-८१-००३५७ नम्बरको नागरिकता दिएका छन् ।

नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गरे । उनले हेर्ने कथा र विद्या चापागाईँ साथै आफूलाई गाउँघर फर्काउनेहरूलाई धन्यवाद दिएका छन् । मेयर उदासले प्रकाशले चाहे उनको क्षमतारयोग्यताअनुसार नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनको आजै बैंक खाता खोल्ने तयारी गरिएको छ ।‘चुमभ्यालीबाट प्रकाशको न्यायपूर्ण बिदाई र भोजपुरको सम्पाङ छाप्लेगाउँमा सम्मानित जीवन बाँच्ने’ वातावरणको अभियान चलाएका पत्रकार राजेश राईसहितको टोलीले उनलाई भोजपुर लगेको थियो ।

प्रकाशलाई उनको कुरा सुन्न र सरकारको तर्फबाट केही सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न खोजेका छन् ।

  • १६ भाद्र २०८१, आईतवार १६:३७ प्रकाशित