पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २० भलाम मौजाले यस वर्ष पनि नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर वडास्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ ।
भदौ १९ गते आयोजना हुने उक्त प्रतियोगितामा वडाको पहिचान हुने खालको गीत तयार गरी भदौ १८ गतेसम्म आफ्नो टीम दर्ता गराउनका लागि वडा नं. २० को कार्यालयले वडाबासीलाई अनुरोध समेत गरेको छ । उक्त दिन वडाले महिला दिदी बहिनीहरुलाई दरखाने कार्यक्रम समेत राखेको वडा अध्इक्ष गंगा बहादुर खत्रीले बताए ।
पोखरा महानगरपालिका वडा नं. २० ले भौतिक विकाससँगसगै विविध कार्यक्रमहरुको आयोजना मार्फत सामुदायिक चेतना बढाउन पनि आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । यस्तै क्रियाशीलताको बिच विगतका वर्षहरुमा झै यस वर्ष पनि तीजगीत प्रतियोगिता गर्न लागिएको वडाअध्यक्ष खत्रीले जानकारी दिए ।
यस्ता कार्यक्रमहरुले समुदायलाई सांस्कृतिक रुपमा एकजुट गर्न मात्र होइन स्थानीय प्रतिभाको सम्मान र प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने वडा सचिव हरिकृष्ण आचार्यले बताए ।
प्रतियोगिता भदौ १९ गते वडा कार्यालय परिसयमा संचालन हुनेछ । तीजगीत प्रतियोगितामा ९ वटा विधामा पुरस्कार प्रदान गरिने संयोजक वडा सदस्य मिना पौडेलले जानकारी दिए ।
जसअन्तर्गत प्रथम पुरस्कार १२ हजार, दोस्रो पुरस्कार १० हजार, तृतीय पुरस्कार ८ हजार र सान्त्वना पुरस्कार २ टीमलाई ३÷३ हजार, उत्कृष्ट नृत्यको लागि ३ हजार, उत्कृष्ट भेषभूषा ३ हजार र उत्कृष्ट शब्द, विन्यास लयलाई ३ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने संयोजक पौडेलले जानकारी दिए ।