काठमाडौं ।
भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न पाँच वर्षे हद म्याद हटाउन सरकार तयार भएको छ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका हुन ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गरे ।
भ्रष्टाचारीलाई कुन विधि अनुसार कारबाही वा सजाय गर्ने हो त्यसबारे आवश्यकता अनुसार टुङ्गो लगाउन लेखकले आग्रह गरे । भ्रष्टाचार पाँच वर्षे हद म्याद हटाएर पहिलेकै ब्यवस्था राखी भ्रष्टाचारको मुद्धामा जहिलेसुकै मुद्धा चलाउन सकिने वताउदै सरकारले प्रवाधान हटाउन तयार रहेको उनले बताए ।
जहिलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरेको खण्डमा पाँच वर्षे हदम्यादको विषय हटाउन समस्या नभएको र समितिका सदस्यहरूको धारणा अनुसार सरकार चल्न तयार रहेको उनको भनाइ रहेको थियो ।यसअघि विधेयकमा भ्रष्टाचारका मुद्दा चलाउन ५ वर्षे हदम्याद राखेपछि चौतर्फी विरोध भएको थियो । मन्त्री लेखकले सरकार हदम्याद हटाउन तयार रहेको बताएपछि समितिका सांसदहरूले स्वागत गरेका छन् ।
;सरकारले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक २०७५ सालमा संसद्मा दर्ता गरेको थियो । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको यो विधेयकमाथि दफावार छलफल चलिरहेको छ ।













