मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

मुख्य सचिव नियुक्त अर्याल हाल गृह सचिव छन् । उनी अब दुई वर्षभन्दा बढी मुख्य सचिव रहनेछन् । हाल मुख्य सचिव रहेकी लीलादेवी गड्तौला उमेर हदका कारण शुक्रबार अवकाश पाउँदैछिन् ।

स्याङ्जा पुतलीबजार १० का अर्याल विसं २०४६ माघ ४ गते नासुबाट निजामती सेवामा प्रवेश गरेका थिए । २०५१ फागुन ४ गते शाखा अधिकृत नियुक्त भएका अर्याल २०५८ माघ ६ गते उपसचिव भएका थिए । त्यसपछि उनी २०६७ फागुन १९ गते सहसचिव र २०७६ फागुन १८ गते सचिवमा नियुक्त भएका थिए। अहिलेसम्म उनले निजामती सेवामा ३४ वर्ष ७ महिना ९ दिन बिताइसकेका छन् ।

अर्याल यसअघि मकवानपुर, काठमाडौं र तनहुँको प्रमुख जिल्ला अधिकारी भइसकेका छन् । उनले गृह मन्त्रालयमा सहसचिवको रूपमा रहँदा गृह प्रशासन सुधार, योजना निर्माण र त्यसको कार्यान्यवनमा महत्त्वपूर्ण योगदान गरेका थिए ।

  • १४ भाद्र २०८१, शुक्रबार ०६:३३ प्रकाशित