गण्डकी मेडिकल कलेज रिठ्ठेपानीमा स्थानान्तरण गरिने

हाल ५ सय ५० बेडको अस्पाताल नयाँ ठाउँमा ७ सय ५० बेडको बन्ने, भवन निर्माणमा ३ अर्ब लाग्ने

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी मेडिकल कलेजलाई स्थानान्तरण गरिने भएको छ । पोखरा नयाँबजारमा रहेको सो कलेजलाई पोखरा २७, रिठ्ठेपानीमा नयाँ भवन बनाएर स्थानान्तरण गरिने भएको हो । रिठ्ठेपानीमा शैक्षिक भवन र अर्घौंमा मेडिकल कलेज निर्माण सुरु गरिएकोमा दुवै भवनको बुधबार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर अध्यक्ष खुमाप्रसाद अर्यालले शिलान्यास गरेका छन् ।

उनले पोखरामा बढ्दो जनघनत्वलाई मध्यनजर गरेर लेखनाथमा कलेज स्थानान्तरण गर्न लागिएको जानकारी दिए । ‘हामी नयाँबजारबाट रिठ्ठेपानीमा कलेज सार्न लागेका छौं । नयाँबजारमा अब पठनपाठन हुँदैन । अस्पताललाई अरु व्यवस्थित गरेर चलाउँछौं,’ उनले भने, ‘टिचिङ अस्पताल र शैक्षिक भवन पूर्ण रुपमा लेखनाथ सार्न लागिएको हो । नयाँबजारमा सिटी अस्पताल मात्रै चल्छ ।’

उनले गण्डकी मेडिकल कलेज गण्डकी क्षेत्रकै अग्रणी र जिम्मेवार संस्था रहेको दाबी गरे । ‘शैक्षिक र स्वास्थ्यका हिसाबले गण्डकी कमजोर नै छ । यहाँका दूरदराजका बिरामीले असाध्य रोगको उपचारका लागि काठमाडौं र विदेश धाउनुपर्ने बाध्यता नभएको होइन,’ अघि भने, ‘हाम्रो ग्रुपले बिस्तारै यसको अन्त्य गर्दैछ । कलेजलाई अझै बिस्तार गर्न गइरहेका छौं र अत्याधुनिक प्रविधिबाट उपचार गर्ने गरी प्रक्रिया अघि बढाएका छौं ।’

अर्यालसहित सहभागी रहेको सञ्जीवनी ग्रुपले भैरहवाबाट पोखरामा मेडिकल कलेज सञ्चालन गर्न थालेको हो । केही समयअघि नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर अस्पतालमा पनि उपस्थिति जनाएको थियो ।

नयाँ बन्ने अस्पताल भवन ७ सय ५० बेडको बन्नेछ । हाल ५ सय ५० बेडको स्वीकृति रहेको अस्पतालमा शैय्या थप गर्न प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए । भवन निर्माणमा करिब ३ अर्ब लागत अनुमान गरिएको छ । सोही ठाउँ नजिकै अत्याधुनिक शैक्षिक भवन पनि शिलान्यास भएको छ । भवन १ अर्ब लागतमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

  • १३ भाद्र २०८१, बिहीबार ०८:३० प्रकाशित