१० लाख दिने लोभमा कोलकाता पुर्‍याएर मिर्गौला झिक्ने २ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

विभिन्न प्रलोभनमा भारतको कोलकाता पुर्‍याएर मिर्गौला झिकेको आरोपमा २ जना पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पीडितको उजुरीपछि दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका-२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् ।

उनीहरूले पीडितलाई मृगौला बिक्री गरेमा १० लाख कमाउन सकिने लोभ देखाएर लगेको ब्युरोले बताएको छ । प्रहरीका अनुसार गिरोहले पीडितको स्वास्थ्य परीक्षण गराई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको कलकत्ता पुर्‍याएका थिए ।

थप अनुसन्धानको क्रममा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परिवारभित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजात झुट्टा बनाई धाकधम्की दिएको पनि उनीहरूमाथि आरोप छ ।

दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • १२ भाद्र २०८१, बुधबार १४:३८ प्रकाशित