‘स्पा पर्यटनको अभिन्न अंग’

केन्द्रभाग मिडिया

पोखरा  ।

गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर खाने कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै उनले भनिन्,‘पोखरा पर्यटनको राजधानी हो । यहाँ आउने प्राय पर्यटक साहसिक खेलकुदका लागि आउँछन् । अनि खेलेर थाकेपछि शरिरलाई पुर्नताजगी बनाउन स्पा महत्वपूर्ण छ ।’ उनले स्पालाई व्यवसायीकरण गर्न सकेमा आम्दानीको राम्रो श्रोत बनाउन सकिने बताईन् ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा अग्रज पर्यटन व्यवसायी अग्नी कँडेलले स्पा पर्यटनको अभिन्न अंग भएकाले यसको व्यवसायीकरणमा जोड दिनुपर्ने बताए । स्पामा हुने यदाकदाका घटनाले स्पाप्रति समाजमा नकारात्मक धारणा बनेकाले यसलाई चिरेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।

स्पा एशोसियसन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठले स्पाका बारेमा भ्रम सिर्जना भएको बताए । स्पा सुरक्षित र मर्यादित नै रहेको बताउँदै उनले यदाकदा हुने घटनालाई लिएर समग्र स्पा व्यवसायप्रति नकारात्मक धारणा नबनाउन आग्रह गरे । उनले स्पाको आचारसंहिता बनाइएको र सोहि अनुसार सञ्चालन भइरहेको भन्दै त्यसबाहेकका गतिविधि भए कारवाहीको दायरामा ल्याउन आफूहरु तयार रहेको बताए ।एशोसियसनका सचिव चित्रबहादुर गुरुङले स्पाका लागि पोखरा गन्तव्य बन्नसक्ने बताए । तर यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा स्पा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी तथा स्पामा कार्यरत महिला कर्मचारीहरुलाई दर खुवाइएको थियो । सो अवसरमा महिला दिदी बहिनीहरुले तिज गीतमा नाचेर रमाइलो गर्नुका साथै आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

  • ११ भाद्र २०८१, मंगलवार १८:०० प्रकाशित