लामाचौर तिज महोत्सव भदौ १८ गतेदेखि

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा आयोजना हुने लामाचौर तिज महोत्सव भदौ १८ गतेदेखि सुरु हुने भएको छ । महोत्सव १८ गतेबाट सुरु भई तिजको दिन २१ गते सकिने आयोजक नव आदर्श सामुदायिक विकास समाज लामाचौरले जानकारी दिएको छ।

महोत्सवको अवसरमा लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा ५-५ टिम सहभागी हुने आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

लामाचौर तिज महोत्सवमा खेलकुदको छुट्टै ब्राण्ड बनाएको लामाचौर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ११ औं संस्करणमा नेपाल पुलिस क्लव, नेपाल आर्मीको त्रिभूवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लव, न्यू डायमण्ड युथ स्पोर्टस क्लव र न्यू एभरेस्ट भलिबल क्लवलाई सहभागिताका लागि पत्राचार गरिएको क्लवका प्रथम उपाध्यक्ष तथा सूचना तथा सञ्चार उपसमिति संयोजक दीनेश भण्डारीले जानकारी दिए ।

तेश्रो लामाचौर कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पनि सशस्त्र प्रहरी बलको एपिएफ क्लव, नेपाल सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, मणिमुकुन्द भलिबल क्लव बुटवल र गण्डकी प्रदेश भलिबल टिमलाई सहभागिताका लागि पत्राचार गरिएको प्रथम उपाध्यक्ष भण्डारीले बताए ।

सहभागी टिमको यातायात, आवास तथा खानालगायतका सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने उनले बताए ।

प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फको उपाधि बिजेताले १ लाख ५० हजार १ सय ११, उपबिजेताले १ लाख १ सय ११ र तृतीय हुनेले ५० हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए ।

प्रतियोगिता अवलोकनका लागि दर्शकले टिकट काट्नु पर्नेछ । भलिबल खेल अवलोकनका लागि पहिलो दिन एक सय, दोश्रो र तेश्रो दिन दुई सय र तेश्रो दिन अर्थात फाइनल खेल अवलोकनका लागि दर्शकले तीन सय रुपैयाँको टिकट काट्नुपर्ने अध्यक्ष भण्डारीले बताए ।

लामाचौर तिज महोत्सवको अवसरमा खुल्ला तिज गीत प्रतियोगितासमेत आयोजना गरिने जनाइएको छ । तिजको अवसरमा आयोजित खुल्ला तिज गीत प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार १ सय ११, द्वितीय हुने समूहले ३० हजार १ सय ११, तृतीय हुने समूहले २० हजार १ सय ११ र सान्त्वना स्थान प्राप्त गर्ने समूहले १० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।

महोत्सवको अवसरमा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितासमेत आयोजना हुने आयोजकले जनाएको छ । जसमा प्रथम हुनेले ४० हजार १ सय ११, द्वितीय हुनेले २५ हजार १ सय ११, तृतीय हुनेले १५ हजार १ सय ११ र सान्त्वना स्थान प्राप्त गर्ने ३ टिमलाई ५ हजार १ सय ११ दरले पुरस्कार प्रदान गरिने उनले बताए ।

महोत्सवमा सम्झना भण्डारी, अस्मीता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने र प्रकाश पराजुलीलगायतका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।

भलिबल प्रतियोगिताका लागि टिकट काट्नुपर्ने भएपनि महोत्सवमा भने प्रवेश निःशुल्क गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

  • ११ भाद्र २०८१, मंगलवार १६:२६ प्रकाशित