बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने

केन्द्रभाग मिडिया

बागलुङ ।

पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो ।

महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिए । इन्द्रनाथ आचार्य संयोजक रहेको समितिमार्फत यो कामलाई थालनी गरेर सञ्चालनमा ल्याइनेछ । ‘मुक्तिनाथ जाने भक्तजनलाई यहाँ आएर बस्ने र निःशुल्क भोजन गर्ने व्यवस्था हुनेछ’, पञ्चकोटधाम व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ आचार्यले भने, ‘पूर्वाधारलाई व्यवस्थित बनाउने, आमनागरिकको भरोसाको केन्द्र पनि बनाइने छ ।’

दश वर्षअघिदेखि कारिकोट, रायरायकोट, माझकोट, ताराजालकोट र संसारकोट मिलाएर पञ्चकोट नामकरण गरी पर्यटकीय र धार्मिक पूर्वाधार निर्माण भइरहेको छ । पञ्चकोटमा गत माघमा धान्याञ्चलमार्फत  ११ करोड बढी रकम सङ्कलन गरिएको छ । यो रकमले पूर्वाधार निर्माणको काम सुरु हुने वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।

यसबाहेक महासभाले पवित्र कालीगण्डकी नदी र नदीको सभ्यता जोगाउने अभियानलाई पनि देशव्यापी चलाउने निर्णय गरेको छ । मासिक रूपमा सञ्चालन भएको ३०औँ संस्करणमा विश्वशान्ति गण्डकी महासभाले नदी सभ्यताको अभियानलाई नागरिक तहमा लैजाने तयारी गरेको हो । कालीगण्डकीमा पाइने शालिग्राम संरक्षणसहित नदीलाई सरसफाइ गर्ने र दोहनबाट जोगाउन अभियान केन्द्रित हुनेछ ।

दामोदरकुण्डबाट त्रिवेणीसम्मका जिल्ला, प्रदेश, पालिकासम्म अभियान चलाएर नदी सभ्यता र जलाधार क्षेत्र संरक्षणको कार्यक्रम गरिने भएको हो ।

  • १० भाद्र २०८१, सोमबार १०:३३ प्रकाशित