भारत पठाइयो बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव

केन्द्रभाग मिडिया

चितवन ।

पोखराको भ्रमण सकेर शुक्रबार विहान काठमडौं जाँदै गरेको भारतीय पर्यटन बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा ज्यान गुमाएका २७ जनाको भारतीय पर्यटकको शव भारत पठाइएको छ ।

२७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगिएको छ भने चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको हो।

बस दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २७ जना मृतकको शव भने पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो ।

शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले काठमाडौं आएर घाइतेहरुसँग भेट गरेपछि भरतपुर आई शव जिम्मा लिएर भारत लिएर गएकी हुन् ।

बस चालक र सहचालकको घर भने नेपाली सीमाबाट नजिकै रहेकाले एम्बुलसेन्सबाट पठाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

  • ८ भाद्र २०८१, शनिबार २०:१९ प्रकाशित