देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन् । युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले यस्तो बताएका हुन् ।

महिला प्रधानमन्त्री बनाउनका लागि अलिकति तयारी भने गर्नुपर्ने उनको भनाई छ । ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ, तर छिट्टै बनाउने तयारीबारेमा सोचिराखेको छु ।’

उनले सबै क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता गराउने कुरामा पनि आफ्नो महत्वपूर्ण भूमिका रहेको बताए । आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए ।

‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुषमात्रैको डेलिगेसन एकजना मात्रै बोलाएको छ भने बेग्लै कुरा विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन ।’ उनले भने, ‘डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ । त्यो रुल अहिले मैले सरकारको बनाएको छु । महिलाहरुको लागि थुप्रै काम गरेको छ ।’

 

  • ८ भाद्र २०८१, शनिबार १६:३७ प्रकाशित