पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख रमशेबहादुर खड्काले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई आवश्यक दक्ष जनशक्ति दिन सक्षम भएको बताएका छन् ।
क्याम्पसमा शुक्रबार आयोजित ‘नेपालको पर्यटन प्रवर्धनमा युवाहरूको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कृत गर्दै खड्काले नेपालमै पहिलो पटक जनप्रिय क्याम्पसले पर्यटन शिक्षाको स्वायत्त कार्यक्रम सञ्चालन गरेकाले अबको पर्यटन शिक्षित युवाको जिम्मेवारीभित्र पर्ने हुँदा आफ्नो कर्तव्य सशक्त रूपमा पूरा गर्न आग्रह गरे ।
वक्तृत्वकला प्रतियोगितामा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) अध्ययनरत श्रीजा तण्डुकार, सुनिल पाख्रिन र वर्षा शर्मा पौडेल क्रमशः प्रथम, द्वितीय र तृतीय भए । विजयी प्रतियोगीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगीले नेपाली र अङ्ग्रेजी भाषामा पर्यटन प्रवर्धनमा युवाको भूमिका र जिम्मेवारीबारे आफ्ना अभिव्यक्ति प्रस्तुत गरेका थिए । डा.रामजी शर्मा, दीपन्द्र पहारी र विकास थापा मगर निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगिताले युवाहरूलाई पर्यटनको महत्वबारे जागरुक गराउनुका साथै उनीहरूको विचार र योजनाहरू प्रस्तुत गर्ने मञ्च प्रदान गरेको थियो ।
दिगो पर्यटनबाट जीविकोपार्जन पुनः स्थापना परियोजना, नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्र विकास कार्यक्रम, पर्यटन अनुसन्धान तथा प्रशिक्षण संस्थान लगायतका संस्थाले कार्यक्रम आयोजना गरेका थिए भने जनप्रिय बहुमुखी क्याम्पसले सहजीकरण गरेको थियो । कार्यक्रम निर्देशक सरोज प्याकुरेलले उद्धेश्यमाथि प्रकाश पारेका थिए भने संयोजक दिव्यालक्ष्मी चालिसेले शुभकामना मन्तव्य राखेकी थिइन ।
पर्वतीय पर्यटन शिक्षा सञ्चालन गरेको जनप्रिय क्याम्पसमा ११ सदस्यीय नेसनल सस्टेनेवल टुरिजम क्लवको गठन गरिएको छ । जसको संरक्षकमा निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्का, संयोजक दिव्यालक्ष्मी चालिसे, अध्यक्ष समुन्द्र आचार्य, कोषाध्यक्ष सुजन भट्टराई सदस्यहरूमा मिलन विक, सुशिला घिमिरे, सुस्मिता बञ्जरा, श्रीजा तण्डुकार, सिमोनिका घिमिरे, राम राना, पेमा दोर्जे गुरुङ रहेका छन् । क्लवले पर्यटन प्रवर्धनका लागि क्रियात्मक अभियानमा आधारित कार्यक्रम गर्ने जनाइएको छ ।