नयाँ दिल्ली ।
भारतको केन्द्र सरकारले १५६ वटा ककटेल औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्धित औषधिहरूको सूचीमा पेन किलर, मल्टिभिटामिन, एन्टिपारासिटिक्स, एन्टिएलर्जीक्सका औषधि छन् । एउटै चक्कीमा एक भन्दा धेरै औषधि पाइने यी औषधिलाई फिक्स्ड–डोज कम्बिनेसन (एफडीसी) भनिन्छ । यी औषधिलाई अर्को शब्दमा ककटेल औषधि पनि भनिन्छ ।
औषधि बनाउने कम्पनीहरूले प्रतिबन्धको आर्थिक प्रभावबारे अहिलेसम्म घोषणा गरेका छैनन् । प्रतिबन्धमा परेका धेरैजसो ककटेल औषधिलाई सन् १९८८ भन्दा अगाडि नै उत्पादनको अनुमति दिइएको थियो । प्रतिबन्धमा पर्नेमा सिप्ला, टोरेन्ट, सन फार्मा, आईपीसीए ल्याब्स र लुपिन जस्ता ठूला फार्मा कम्पनीका उत्पादन पनि छन् ।
सरकारले जारी गरेको राजपत्र सूचना अनुसार यी १५६ थरी ककटेल औषधिको सेवनले मानव शरीरमा जोखिम छ । प्रतिबन्ध लगाइएको औषधिको सुरक्षित विकल्प उपलब्ध रहेको बताइएको छ ।