पोखरा ।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिलाई बयान दिँदैछन् । उनीसंग बयानका लागि छानविन समितिले शुक्रबार (आज) दिउँसो २ बजे बोलाएको छ ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । लामिछानेसँगै समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग पनि आजै बयान लिने तयारी गरेको छ । बयानका लागि उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ ।
गएको बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले संसदीय छानबिन विशेष समितिले आफूलाई बयानका लागि बोलाएको जानकारी गराएका थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ । यी लगायत देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइसकेको छ।
करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको झण्डै ९६ करोड रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सारिएको आरोप लामिछानेमाथि छ ।
लामिछाने प्रबन्ध निर्देशक र जीबी राई अध्यक्ष भएका बेला गोर्खा मिडिया नेटवर्कमा काठमाडौँको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा पनि ९५ करोड ८१ लाख रुपैयाँ ल्याई अपचलन गरेको आरोप छ ।
लामिछाने ५ वैशाख २०७८ देखि १ असार २०७९ सम्म गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए ।














